को बन्ला नयाँ सभामुख ?

0
44

पार्टी एकताका लागि सहमति गरिसकेका नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष लगायत पदमा भागवण्डाको छलफल शुरु भएको छ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री तथा माओवादी केन्द्रले सभामुख र उपराष्ट्रपति पाउने मोटामोटी सहमति भएको छ ।

नयाँ राष्ट्रपति बन्नका लागि एमालेभित्र लविङ शुरु भएको छ भने सभामुखका लागि माओवादीमा अनौपचारिक छलफल शुरु भएको छ । राष्ट्रिय सभाको अध्यक्षमा भने माओवादीका रामबहादुर थापाको नाम चर्चामा छ ।

भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, पम्फा भुसाल र जयपुरी घर्तीको नाम चर्चामा छ । नयाँ संविधान जारी भएपछि रुपान्तरित संसदको सभामुखमा पनि महरा र पोखरेलको नाम चर्चामा थियो ।

त्यो बेला सभामुख पद अस्वीकार गरेका महरा त्यसपछि दुईपटक उपप्रधानमन्त्री बनिसकेका छन् । पोखरेलले पनि त्यो बेला सभामुख पद अस्वीकार गरेका थिए ।

सभामुखका लागि यसपटक लम्जुङबाट चुनाव जितेका गुरुङ, ललितपुरबाट चुनाव जितेकी माओवादी प्रवक्ता भुसाल देखि जयपुरीसम्मको चर्चा छ । निवर्तमान सभामुख ओनसरी घर्तीपनि सभामुख बन्ने चर्चा माओवादी बृत्तमा छ ।

पहिलो संविधानसभामा उपसभामुख रहेकी पूर्णकुमारी सुवेदीको नाम पनि चर्चामा छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओवादीको नेतृत्व गर्दै बर्षमान पुन गएमा ओलसरीले त्यो मौका फेरि नपाउन सक्छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसदको अधिवेशन आह्वान गरिसकेकी छिन् । संसदको अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको चुनाव भइसक्नु पर्ने व्यबस्था छ ।

एकीकरण गर्ने सहमति भइसकेका माओवादी र एमालेबीचको भागवण्डामा राष्ट्रपति माओवादीको पोल्टामा गयो भने सभामुख एमालेले पाउने सम्भावना पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here