जननिर्वाचित नगर प्रमुखलाई जन्मकैद

0
74

हिन्दू युवासंघ पर्साका तत्कालीन अध्यक्ष काशी तिवारी हत्या प्रकरणमा पहिलेदेखि नै विवादमा तानिएका रौतहट निवासी फिरोज भन्ने सियाराम कुशवाहालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको छ ।

मुलुकको पछिल्लो संरचनाअनुसार निर्मित स्थानीय तहमध्ये कुशवाहा रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख पनि हुन् । उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश लेखनाथ घिमिरे र नारायण श्रेष्ठको संयुक्त इजलासले उनलाई गएको २८ फागुनमै जन्मकैदको फैसला गरेको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार बाबुराम दाहालले बताए ।

मृतक तिवारीकी धर्मपत्नी बबिता देवी तिवारीको जाहेरीका आधारमा सरकारवादी मुद्दामा जिल्ला अदालतले कुशवाहालाई सफाइ दिए पनि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको रजिस्ट्रार दाहालको भनाइ छ ।

तत्कालीन माओवादी हालको माओवादी केन्द्रको कार्यकर्तासमेत रहेका कुशवाहासहित मोटरसाइकलमा गएका माओवादी कार्यकर्ताले वीरगन्जको रानीघाटस्थित मठमा बसिरहेको समयमा २०६७ सालमा हिन्दू युवा संघका तत्कालीन अध्यक्ष तिवारीलाई गोली हानी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो । सोही अनुसन्धानका आधारमा प्रहरीले अगाडि बढाएको मुद्दाअनुसार अन्ततः कुशवाहा दोषी रहेको उच्च अदालतको ठहर छ । राजधानी दैनिकमा तुलसी भण्डारीले खबर लेखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here