भ्रष्टाचार आरोपमा पूर्वराष्ट्रपति जेल जाने लहर, यस्तो दिन कहिले आउँला नेपालमा ?

0
26

भ्रष्टाचार अभियोग प्रमाणित भएपछि दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन–हाय हत्कडीसहित जेल गएकी छिन् । उनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारको आरोप लागेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति जाकोब जुमा अदालत पुगेका छन् ।

जुमामाथिको मुद्दामा सुनुवाइ थालिएको छ । दक्षिण अमेरिकी देश ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भामाथिको भ्रष्टाचारको अभियोग साबित भएको छ । उनलाई १२ वर्ष जेल सजाय तोकिएको छ ।

यी पूर्वराष्ट्रपतिलाई कानुनको दायराभित्र राखिएको तथ्यले कानुनीराज भएको देशमा कानुनभन्दा माथि कोही छैन भन्ने यथार्थलाई स्थापित गरेको छ । कानुनले कसैलाई काखा कैसैलाई पाखा गर्दैन भन्ने वास्तविकता यी तीन राष्ट्रको प्रकरणले स्पस्ट पारेको छ ।

पार्क ग्युन–हायलाई २४ वर्ष जेल सजाय

दक्षिण कोरियाली अदालतले ६६ वर्षीया पूर्वराष्ट्रपति पार्क ग्युन–हायले भ्रष्टाचार तथा शक्तिको दुरुपयोग गरेको ठहर गर्दै २४ वर्ष जेल सजाय सुनाएको छ । गत शुक्रबार जेल सजायसँगै उनलाई १ करोड ७० लाख अमेरिकी डलर जरिवाना पनि सुनाइयो ।

दक्षिण कोरियाकी एक मात्र महिला राष्ट्रपति पार्कको अपराध प्रमाणित भएसँगै दक्षिण कोरियाली जनता आक्रोशित बनेका छन् । उनको मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई लामो समयदेखि थुनामा राखिएको थियो । उनलाई ३० वर्षको जेल हुनुपर्ने माग सरकारी वकिलले गर्दै आएका थिए ।

यद्यपि, आफूले कुनै पनि गलत कार्य नगरेको भन्दै उक्त फैसलामा पुनरावेदन गर्ने उनको दाबी छ । आफूले गरेको भ्रष्टाचारको अपराधप्रति उनलाई कत्ति पनि पश्चात्ताप नभएको भन्दै न्यायाधीश स्वयंले फैसला सुनाएका थिए ।

दक्षिण कोरियाको राजधानी सोउलस्थित केन्द्रीय जिल्ला अदालतले पार्कविरुद्धको मुद्दा फैसलालाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको थियो । यसले गर्दा फैसला दौरान पार्क तथा उनका वकिल अदालतमा सहभागी भएनन् ।

उक्त मुद्दाको लाइभ प्रसारण दक्षिण कोरियाको इतिहासमै पहिलो घटना हो । अदालतले पार्कको अपराधलाई प्रमाणित गरेसँगै दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले एक विज्ञप्तिमार्फत उक्त निर्णयलाई ‘दक्षिण कोरियाका लागि हृदयविदारक’ र सम्झनै नसकिने इतिहासको संज्ञा दिएको छ ।

पार्कमाथि लागेका मुद्दा

पार्कमाथि १८ वटा मुद्दा लागेका थिए । तीमध्ये १६ वटा मुद्दामा उनी दोषी ठहर भएकी छिन् । घुसखोरी तथा शक्तिको दुरुपयोगसम्बन्धी मुद्दा लागेका थिए ।

ठूला कम्पनीबाट २ करोड अमेरिकी लडरभन्दा बढी घुस लिएको, चोई प्रतिष्ठान सञ्चालन गर्दै आएका उनका सल्लाहकार तथा विश्वासपात्र चोई सुन–सिललाई सरकारका गोप्य दस्ताबेज उपलब्ध गराएको, उनको शक्ति दुरुपयोगको आदेशलाई नमान्ने कर्मचारीलाई पदबाट निष्कासित गरेको, उनको नीतिमा असहमति जनाउने कलाकारलाई अनुदान दिनबाट रोक लगाएकोजस्ता आरोप पार्कमाथि लागेका छन् ।

यस भ्रष्टाचार प्रकरणले राजनीतिज्ञ र ठूला बिजनेस कम्पनीबीचको घुसखोरी प्रकरण उजागर गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार उनलाई मुद्दाको पुनरावेदनका लागि ७ दिनको म्याद दिइएको छ ।

पार्कको पतन

सन् २०१२ मा भएको राष्ट्रपति निर्वाचनमा प्रत्यासी मुन जाई इन (दक्षिण कोरियाका वर्तमान राष्ट्रपति) भन्दा १० लाख बढी मतले पार्क विजयी भएकी थिइन् । कम्युनिस्टविरोधी तानाशाह छवि बनाएका उनका बुबा पार्क चुङ ही समर्थक पुरातनवादी शक्तिले पनि उनको व्यापक समर्थन गरेका थिए ।

सन् १९५०–५३ को कोरिया युद्धबाट तहसनहस भएको दक्षिण कोरियालाई औद्योगिक नीतिका माध्यबाट उनका बुबा चुङ हीले उठाएको तथा लाखौँ कोरियालीलाई गरिबीबाट मुक्ति दिलाएका कारण पनि छोरी पार्कलाई व्यापक जनमत तथा समर्थन प्राप्त थियो ।

तर, उनले आफ्नो पिताले बनाएको छवि र जनमतलाई धेरै समय जोगाउन सकिनन् । भ्रष्टाचारको अभियोगमा पार्क एक वर्षअघि राष्ट्रपति पदबाट बर्खास्त भइन् । संसद्बाट महाअभियोग लगाइएकी उनलाई संवैधानिक अदालतको आदेशबाट पदमुक्त गरियो ।

पार्कलाई पदको दुरुपयोग गरेको अभियोगमा सन् २०१६ डिसेम्बरमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरिएको थियो । त्यसको केही महिनापछि उनी पदमुक्त भइन् । सन् २०१६ को अन्त्यमा पार्कको राजीनामा माग गर्दै लाखौँ दक्षिण कोरियाली जनताले विरोध प्रदर्शन गरेका थिए ।

सन् २०१७ को मार्च माहिनामा उनलाई पक्राउ गरिएको थियो । सन् २०१७ को मे महिनामा उनलाई हत्कडी लगाएर अदालतमा हाजिर गराइयो । सन् २०१८ फेब्रुअरी महिनामा उनको पाँचवर्षे कार्यकालको अन्त्य हुनुपर्ने थियोे ।

दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति जुमामाथि भ्रष्टाचार मुद्दा

दक्षिण अफ्रिकाका ७५ वर्षीय पूर्वराष्ट्रपति जाकोब जुमामाथि भ्रष्टाचारसम्बन्धी १६ मुद्दा लगाइएका छन् । सन् १९९० को दशकमा भएका अबौँ अमेरिकी डलरबराबरका हतियार सम्झौतामा उनले भ्रष्टाचार गरेको अरोप छ । गत शुक्रबारबाट उनीमाथिको भ्रष्टाचार मुद्दाको सुनुवाइ सुरु भएको छ । सुनुवाइका क्रममा जुमालाई दर्बानस्थित उच्च अदालतमा उपस्थित गराइएको थियो ।

सरकारी वकिलले उनीमाथि जालसाजी, ठगी, कालोधनलाई सेतो धन बनाएको जस्ता आरोप लगाएर मुद्दा दायर गरेका हुन् । राज्यकोषको दोहन गरेको आरोपका अलावा पनि जुमासँग धेरै प्रकरण जोडिएका छन् ।

सन् २०१६ मा आफूले खाएको सपथको उल्लंघन गर्दै कानुनविपरीत जुमाले ग्रामीण भेगमा रहेको उनको निजी भवनको स्तरोन्नति गर्नका लागि सरकारी रकम खर्च गरेको आरोप लागेको थियो । उनको कदमको व्यापक विरोध भएपछि सो रमक उनले फिर्ता गरेका थिए ।

हतियार सम्झौतामा के थियो ?

सन् १९९४ मा दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराको शासन समाप्त भएपछि बनेको अफ्रिकन नेसनल कंग्रेस सरकार नेतृत्वले सैन्य हतियारमा सुधार गर्नुपर्ने तथा आधुनिक हतियारको आवश्यकता रहेको महसुस ग-यो ।

सोहीअनुरूप सरकारले जर्मनी, इटली, स्विडेन, बेलायत, फ्रान्स र दक्षिण अफ्रिकाका विभिन्न हतियार कम्पनीसँग ५ अर्ब अमेरिकी डलरबराबरको हतियार सम्झौतामा हस्ताक्षर ग-यो । उक्त हतियार सम्झौता सन् १९९९ मा भएको थियो । त्यो समय संघीय मन्त्रीको पद समालिरहेका जुमा दक्षिण अफ्रिकाको उपराष्ट्रपतिमा चुनिएका थिए । उनले ७ सय ८३ गैरकानुनी पेमेन्ट लिएको आरोप छ ।

उनका तत्कालीन आर्थिक सल्लाहकार चाबिर सैखले जुमाको तर्फबाट फ्रान्सेली हतियार कम्पनीसँग घुस मागेको प्रमाणित भएको थियो । सन् २००५ मा सैखलाई जेल चलान गरियो । तर, जुमाले सन् २००९ को राष्ट्रपति निर्वाचनमा भाग लिनुभन्दा केही समयअघि मात्रै उनीमाथिको मुद्दा भने फिर्ता लिइएको थियो ।

नभन्दै उनी राष्ट्रपति पदका लागि चुनिए । तर, सन् २०१६ मा उनीमाथिको पुरानो मुद्दा ब्यँुताइयो । सोही मुद्दाको सिलसिलामा उनलाई अदालतमा उपस्थित गराइएको हो । तर, आफूले आर्थिक रूपले विपन्न ग्रामीण संघमा आर्थिक विकास गरेका कारण आफ्ना विरोधी तथा विपक्षीले झुटो आरोप लगाएको दाबी उनले गर्दै आएका छन् ।

परम्परागत मूल्य–मान्यतालाई प्रोत्साहन तथा सम्मान गरेकोमा भने दक्षिण अफ्रिकी ग्रामीण जनताबीच उनको लोकप्रियता कायम छ । खैर, उनीमाथिको भ्रष्टाचार मुद्दा बल्झिएपछि जुमाको आफ्नै पार्टी अफ्रिकन नेसनल कंग्रेसले राष्ट्रपति पद छाड्न उनलाई दबाब तथा निर्देशन दिएपछि १४ फेब्रुअरी २०१८ मा उनले पदबाट राजीनामा दिएका थिए । ६ जनासँग विवाह गरेका जुमाका २१ छोराछोरी छन् ।

ब्राजिलका पूर्वराष्ट्रपति सिल्भालाई १२ वर्ष जेल सजाय

भ्रष्टाचार आरोपमा ब्राजिलका ७२ वर्षीय पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई ब्राजिलको अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ । गत शनिबार आएको अदालतको फैसलासँगै सिल्भाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

शनिबार आफ्नो कार्यालयबाटै प्रहरीको कार चढेर सिल्भा अदालत गएका छन् । उनका हजारौँ समर्थकले उनको पक्राउविरुद्ध प्रदर्शन गरेका थिए । ब्राजिलको राजनीतिक इतिहासमा पूर्वराष्ट्रपतिमध्ये भ्रष्टाचारको अभियोगमा जेल चलान हुने पहिलो राष्ट्रपति सिल्भा नै हुन् ।

ब्राजिलको वर्कर्स पार्टीले पार्टीको तर्फबाट पूर्वराष्ट्रपति सिल्भालाई आउँदो अक्टोबर महिनामा हुने राष्ट्रपति चुनावको उम्मेदवारका रूपमा गत जनवरीमै घोषणा गरिसकेको थियो ।

सिल्भामाथिको भ्रष्टाचार मुद्दा

सिल्भालाई भ्रष्टाचार तथा स्रोत नखुलेको सम्पत्तिसम्बन्धी मुद्दामा दोषी करार गरिएको छ । एउटा सरकारी भवन निर्माणसम्बन्धी सम्झौतामा आफ्नो पक्षको कम्पनीलाई सम्झौता दिलाउने कार्यमा संलग्न भएको आरोप उनलाई लागेको थियो । सन् २०१७ जुलाईमा उनीमाथिको भ्रष्टाचारलाई प्रमाणित गर्दै उनलाई ९ वर्ष ६ महिनाको जेल सजाय सुनाइएको थियो ।

तर, आफूमाथिको आरोप राजनीतिक रूपमा प्रेरित रहेको भन्दै उनले त्यसविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए । उक्त फैसलाविरुद्ध पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने निर्णय सिल्भाले गरे । र, गत जनवरीमा सर्वोच्चमा अपिल गरे ।

तर, उनको अपेक्षाविपरीत सर्वोच्च अदालतका ३ न्यायाधीशको संयुक्त इजलासले सिल्भामाथिको सजाय थप गर्दै १२ वर्ष १ महिनाको जेल सजाय सुनाएको छ । संघीय प्रहरी मुख्यालय कुरितिबामा रहेको १६० वर्गफुट क्षेत्रफलमा उनलाई राखिएको छ ।

उनको जेल चलानीलाई लिएर विश्वका एक लोकप्रिय नेताको राजनीतिक अवसान भएको टिप्पणी राजनीतिक विज्ञले गरेका छन् । सन् २००३ देखि २०११ सम्म सिल्भाले ब्राजिलको राष्ट्रपति पद सम्हालेका थिए । नयाँपत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here