कपडा धुने काममा रमाउने स्नातक गरेका तीन ‘नेपाली धोबी’

0
176

‘शनिबारको दिन के गर्ने, लुगा धुने कि फिल्म हेर्न जाने । साथीलाई भेट्न जाने कि लुगा धुने । छोराछोरीलाई घुमाउन लाने कि लुगा धुने ।’ यस्तै यावत् समस्याको पहिचान गरेर तीन जोसिला युवाहरु (विकास सुवेदी, रिचा धमला र निकुञ्ज भण्डारी) ले अनौठो तथा च्यालेनजिङ कामको सूरुवात गरे, ‘नेपाली धोबी’ । प्रतिकेजी १२० मा नै ड्राइक्लिनिङको सुविधा । नाम सुन्दै अचम्म लाग्ने खालको भएपनि यसले दिने सुविधाले भने पछिल्लो समय काठमाडौँमा बस्दै आइरहेका व्यस्त मानिसहरुलाई ठूलै राहत प्रदान गरेको छ । घरबेटीसँगको पानीको किचकिचले वाक्क दिक्क भएका, व्यस्तताले कपडा धुन नसकेका लगायत अन्य कारणहरुले सुकिलो कपडा लगाउन नभ्याउनेहरुलाई नेपाली धोवीले केही हप्दादेखि सेवा दिँदै आइरहेको छ ।

कसरी सुरु भयो ‘नेपाली धोवी’ को कन्सेप्ट
हप्ताभरिको काम शनिबारलाई थाती राख्ने आम नेपालीको बानी हो । यसैलाई आधार मानेर हामी (विकास सुवेदी, रिचा धमला र निकुञ्ज भण्डारी) केही यस्तो काम गर्न चाहन्थ्यौं जुन अरुले गरेको भन्दा भिन्न होस् । अलिकति भनेपनि च्यालेन्जिङ होस् । एउटा यस्तो च्यालेन्ज होस् जुनलाई पार गरेपछि अन्य थुप्रै अवसरहरु खुलुन् ।
हामी यस्तै शिलाशिलामा एउटा गेट टुगेदर पार्टीमा भेटिऔं । सबैको दिमागमा एउटा न एउटा आइडिया फुरेकै थियो तर, च्यालेन्जिङ भने थिएन । हामीले बिगतमा भएका आफ्ना अनुभवहरुलाई पनि कोट्याउने प्रयास गर्यौं ।
यस्तै छलफल गर्ने क्रममा हामीहरुले एकदमै नौलो काम गर्ने ‘कन्सेप्ट तयार पार्यौं । ‘नेपाली धोबी’ ।
गफगाफ गर्न जति सजिलो हुन्छ त्यो व्यवहारमा उतार्न उति नै गाह्रो । तर, हामीहरुले आफ्नो गफगाफलाई निकै सिरियसरुपमा लिएका थियौँ । नभन्दै हामीहरुले घरघरमा गएर होस् वा जागिर खाने व्यस्त मानिससँग होस् अनुसन्धान गर्न थाल्यौँ । होटेलदेखि होस्टेलसम्म हामीले अध्ययन गर्यौ । घरमा वासिङ मेसिन भएपनि पानीको सुविधा नभएका कारण कपडा धुनै नपाएको समस्या समेत हामीले थाहा पायौँ । ‘मार्केट कस्तो छ यो थाहा नपाइ हामी कसरी अगाडि बढ्ने’ हामीलाई राम्रोसँग थाहा थियो । हामीहरुले मार्केटको राम्रो अध्ययन गरेपछि एउटा अनलाइन साइट नै खोल्यौँः ‘नेपाली धोबीडटकम’ । आइटीमा काम गरेको हुनाले पनि हामीलाई टेक्नीकल काममा खासै कठिन भएन । हाम्रो लागि अनलाइनमार्फत कपडा धुने सेवा दिने यो नितान्त नयाँ प्रोजेक्ट थियो ।
सुरुमा हामीले सानो ठाउँमा नै समेटिने योजना बनायौँ । ठुलो क्षेत्रमा सेवा दिन सुरुमा नै धेरै नै समस्या देखिने भएपछि हामीले यसलाई काठमाडौँ(रिङरोड) भित्रमात्रै सेवा दिने निधो गर्यौ ।
यसलाई व्यवहारिक रुप दिन भने मानिसहरुले हामीलाई विश्वास गर्नु पर्ने वातावरण बनाउनु पर्ने आवश्यक थियो ।
‘नेपाली धोवीले अर्डर पाएको पहिलो दिन’
काठमाडौँमा ड्राइक्लिनर गर्ने धेरै नै छन् । हामीलाई कसले पत्याउला र भन्ने मनमा अनगिन्ती कुराहरु खेलिरहेका थिए । तर, जुन दिन नेपाली धोवीले पहिलो अर्डर पायो हाम्रो खुशीको सिमा रहेन । पहिलो कल बालुवाटारबाट आयो । पूर्ण तयारी नभए पनि हामीले आफ्नो काम भने सुरु गरिसकेका थियौ । फोन आइहाल्यो । के गर्ने नगर्ने दोधारमा थियौ । तर, पहिलो दिन सबै तयारी नभएका कारण स्टाफालाई बिदा दिइसकेका थियौं । अर्डर पाएपछि जसै जानु नै थियो ।
उनीसँग फोनमा भएको कुराकानी पछि थाहा भयो उनका श्रीमान्ले नेपाली धोबीबारे बताएका रहेका छन् । पहिलो अर्डर नै १९ केजी रहेको थियो । अर्डर आइहाल्यो तर कसरी लिन जाने दोधारमा थियौ । तर, पहिलो कलले उत्साहित बनाइसकेको थियो । पाइला रोकिने कुरै भएन । जसो तसो मिलाएर अर्डर लिन गयौं ।

त्यसपछिका दिनहरु
त्यो पहिलो दिनले प्रदान गरेको उर्जाले दोस्रो दिनलाई निकै सहज बनाइदियो । त्यसपछि हाम्रो मनोबल यति उच्च भयो कि कामप्रति हाम्रो सम्मान र मोह झनै बढ्यो ।
त्यही कारणले पनि हुनसक्छ स्टाफलाई मात्र अर्डर लिन पठाउने निर्णय हामीले फेर्यौं । स्टाफलगायत हामी आफैँ पनि अर्डर लिन जाने गरेका छौं । हाल औसत ३० देखि ३५ केजी अर्डर दिनहुँ आउने गरेको छ । काम सूरु गरेको केही दिनमा नै हामीले सफलता पाएको अनुभव गर्न थालिसकेका छौं । मार्केटिङलाई खासै समय दिन सकिरहेका छैनौँ । उक्त पाटोलाई पनि अँगाल्न सक्यौं भने यो डिमाण्ड उच्च हुने हाम्रो अनुमान रहेको छ ।
चुनौती र समस्याहरु
काम सूरु गरेको केही हप्तामात्र भएको छ । तर, समस्याहरु पनि उस्तै रहेका छन् । कहिलेकाहिँ कपडामा हुने दागका कारण अर्डर दिने व्यक्तिले गुनासो गर्ने गर्छन् । तर, धेरै सेवा लिने मानिसहरु भने खुसी नै रहेका छन् ।
हामीलाई देशैभरबाट नेपाली धोवीको सेवा चाहियो भनेर दिनहुँ फोन र इमेल आउने गरेको छ । सेवा प्रदान गरेको एक महिना पनि भएको छैन । यसले पनि हामीलाई थप उर्जा प्रदान गरेको छ । हामीले काठमाडौँ बाहिर पनि नेपाली धोबीको सेवा दिने योजना भने बनाइसकेका छौं । काठमाडौँमामात्रै हामी सिमित भने हुने छैनौं । हामीले छिट्टै नै विद्यार्थीहरुलाई छुट दिने योजनामा रहेका छौं । यसबाट धेरैभन्दा धेरै जना लाभान्वित होउन भन्ने हाम्रो चाहना हो । सानो समयमा पाएको सफलता र यसले दिएको कामप्रतिको उत्साहका कारण हामी अत्यन्त खुशी छौं ।
अनलाइनसेवा सुरु गरे लगत्तै पाएको उत्साह
अनलाइन सुरुवात गर्ने बित्तिकै देश विदेशबाट हामीलाई सुझाव आइरहेको छ । दुबईमा काम गर्दै आइरहेका एक जना दाइले आफू पनि नेपाली धोबीमा आवद्ध हुन खोज्नुभयो । यस क्षेत्रमा उनको १५ वर्षको अनुभव रहेको बताए । तर, भर्खरै सुरुवात भएका कारण हामीले कस्तो निर्णय लिने दोधारमा पर्यौं । उनलाई पछि आफ्नो कम्पनीले सहयोग गर्ने वाचाका साथ हामी अगाडि बढ्ने निर्णय गर्यौं । हामीलाई दैनिक देशका विभिन्न ठाउँहरुबाट फोनहरु आइरहेको छ । हामीलाई दैनिक पोखरा, धनकुटा, चितवनलगायत देशका प्रमुख शहरहरुबाट फोन आउने गरेको छ । यसले पनि हामीलाई एउटा आत्मविश्वास बढाउने काम गरिरहेको छ । विदेशमा गएर होटलमा काम गर्ने, ट्वाइलेट सफा गर्ने अन्य काम निर्धक्कका साथ गर्छौं । तर, नेपालमा हामीलाई कस्तो प्रतिक्रिया आउने हो भन्नेमा बढी चासो देखाएका थियौं । हामीले सुरुवात गरेको केही दिनमा नै धेरै राम्रा र सहयोगी हातहरु अगाडि आए जसले हाम्रो कामप्रति उत्साह थप्ने काम गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here