प्रदेश ४ मा निकासा बजेटको ८० प्रतिशत खर्च

0
149

पुँजीगततर्फ ७३ र चालूतर्फ ८२ प्रतिशत खर्च –

प्रदेश ४ का ११ जिल्लामा आर्थिक वर्ष ०७४/७५ मा केन्द्रबाट निकासा भएको कुल बजेटको ८० प्रतिशत रकम खर्च भएको छ । प्रदेशका पाँच सय २५ सरकारी कार्यालयका लागि ७८ अर्ब ३० करोड रुपैयाँ निकासा भएकोमा ६२ अर्ब ७९ करोड रुपैयाँ खर्च भएको छ ।

 

निकासा भएको कुल बजेटमा पुँजीगततर्फको २२ अर्ब ३४ करोडमध्ये करिब ७३ प्रतिशत अर्थात् १६ अर्ब ४१ करोड खर्च भएको छ । त्यसैगरी चालू तर्फको ५५ अर्ब ९६ करोडमध्ये ४६ अर्ब ३८ करोड अर्थात ८२ प्रतिशत रकम खर्च भएको छ । चालु आब सकिन करिब साढे दुई महिनामात्र वाँकि रहदा सो खर्च भएको हो ।

यस्तो छ जिल्लागत निकासा र खर्चको अवस्था

कास्की
एक सय १० सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको कास्कीमा पुँजीगततर्फ दुई अर्ब ८४ करोड र चालूतर्फ नौ अर्ब ६२ करोड गरी १२ अर्ब ४६ करोड निकासा भएको थियो । सो रकममध्ये पुँजीगततर्फ एक अर्ब ४७ करोड र चालूतर्फ सात अर्ब ३६ करोड खर्च भएको छ ।

बाग्लुङ जिल्लाका ६२ सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको बाग्लुङमा पुँजीगततर्फ एक अर्ब ४० करोड र चालूतर्फ पाँच अर्ब ६० करोड गरी सात अर्ब आएकामा पुँजीगततर्फ ८० करोड र चालूतर्फ चार अर्ब खर्च भएको छ ।

पर्वत
२५ सरकारी कार्यालयहरूलाई निकासा भएको पर्वतमा पुँजीगततर्फ ६० करोड र चालूतर्फ तीन अर्ब ७४ करोड गरी चार अर्ब ३४ करोड निकासा भएको छ । त्यसमध्ये पुँजीगततर्फ ३१ करोड र चालूतर्फ तीन अर्ब १९ करोड खर्च भएको छ ।

मनाङ
मनाङका २८ कार्यालयका लागि सबैभन्दा कम बजेट निकासा भएको थियो । ती कार्यालयहरूका लागि पुँजीगततर्फ १७ करोड र चालूतर्फ १ अर्ब ११ करोड आएकामा पुँजीगततर्फ ७ करोड अर्थात् ४१ प्रतिशत र चालूतर्फ ७० करोड अर्थात् ६३ प्रतिशत मात्र रकम खर्च भएको कोलेनिका मनाङका प्रमुख राकेश श्रेष्ठले बताए ।

मुस्ताङ
३३ सरकारी कार्यालयमा पुँजीगततर्फ एक अर्ब १६ करोड र चालूतर्फ एक अर्ब ६४ करोड गरी दुई अर्ब ८० निकासा भएकामा पुँजीगततर्फ ८७ करोड र चालूतर्फ एक अर्ब ३२ करोड खर्च भएको छ ।

म्याग्दी
३७ सरकारी कार्यालयहरूलाई पुँजीगततर्फ २५ करोड र चालूतर्फ दुई अर्ब ६३ करोड गरी दुई अर्ब ८८ करोड निकासा भएको छ । त्यसमध्ये पुँजीगततर्फ १६ करोड र चालूतर्फ दुई अर्ब ३१ करोड खर्च भएको छ ।

तनहुँ
६३ सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको तनहुँमा पुँजीगततर्फ एक अर्ब ६९ करोड र चालूतर्फ सात अर्ब नौ करोड गरी आठ अर्ब ७८ करोड रुपैयाँ निकासा भएको छ । त्यसमध्ये पुँजीगततर्फ ८३ करोड र चालूतर्फ ६ अर्ब खर्च भएको छ ।

स्याङजा
५५ सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको स्याङजा पुँजीगततर्फ ६७ करोड र चालूतर्फ पाँच अर्ब ५६ करोड गरी ६ अर्ब २३ करोड आएकोमा पुँजीगततर्फ ३६ करोड खर्च भएको छ । चालूतर्फ ४ अर्ब ८३ करोड खर्च भएको छ ।

लमजुङ
४० सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको लमजुङ पुँजीगततर्फ ७२ करोड र चालूतर्फ चार अर्ब ५५ करोड गरी पाँच अर्ब २७ करोड निकासा भएकामा पुँजीगततर्फ ३० करोड र चालूतर्फ चार अर्ब २० करोड खर्च भएको छ ।

नवलपरासी २३ सरकारी कार्यालयहरूलाई निकासा दिँदै आएको नवलपरासीमा पुँजीगततर्फ पाँच करोड र चालूतर्फ एक अर्ब ४८ करोड गरी एक अर्ब ५२ करोड आएकामा पुँजीगततर्फ तीन करोड र चालूतर्फ एक अर्ब २८ करोड खर्च भएको छ ।

खर्च सन्तोषजनक
जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखहरूले निकासा भएर आएको रकम र खर्चको अवस्था सन्तोषजनक रहेको बताएका छन् । पुँजीगततर्फ निकासा हुन बाँकी रहेको रकम आर्थिक वर्षको अन्त्यसम्ममा ९० प्रतिशतभन्दा बढी पुग्ने उनीहरूको भनाइ छ । धेरै कामहरू निर्माणाधीन रहेका र कतिपय ठेकेदारले काम सके पनि भुक्तानी नलगेका कारण विकास बजेटको खर्च कम देखिएको उनीहरूको भनाइ छ ।

सबैभन्दा धेरै बजेट गोरखामा, कम मनाङमा

प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै गोरखा र सबैभन्दा कम मनाङमा बजेट निकासा भएको छ । रकम निकासासँगै खर्चमा समेत गोरखा अघि छ । गोरखाका ४९ कार्यालयका लागि पुँजीगततर्फ १२ अर्ब ७९ करोड र चालूतर्फ १२ अर्ब ९४ करोड गरी २५ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको थियो । निकासा भएकोे बजेटमध्ये पुँजीगततर्फ ८८ प्रतिशत अर्थात् ११ अर्ब २१ करोड र चालूतर्फ ८७ प्रतिशत अर्थात् ११ अर्ब १९ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय गोरखाका प्रमुख श्रीधर ज्ञवालीले बताए । नयाँपत्रिकामा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here