किन पढ्ने ? के पढ्ने ?

0
64

पढ्नु अर्थात अध्ययन गर्नु, जसले पाठकलाई केवल आफ्ना कमजोरीको परिचय गराउँदैन । सँगसँगै त्यसलाई समाधान गर्दै अझ बढी फराकिलो हुन मद्दत गर्छ । एउटा राम्रो पुस्तकले मान्छेलाई आफ्ना सीमितताबाट माथि उठ्न सहयोग गर्दछ । त्यसैले भनिन्छ, पुस्तक जत्तिको ईमान्दार मित्र अरु कोही हुँदैन । तर, हाम्रो परिवेशमा पुस्तक पढ्ने संस्कृति अझै मौलाई सकेको छैन । त्यसो त हिजो आज सान वा सौकतका हिसाबले घरघरमा पुस्तकका ठूला ठूला सोकेसहरु राख्ने प्रचलन बढेको देखिन्छ । के व्यापारी ? के उद्योगी ? के राजनीतिज्ञ ? सबैका घरमा मोटा मोटा पुस्तकहरुका चाङ देखिन्छ् । तर, वास्तवमै पुस्तकका पानाहरुसँग सम्बाद गर्ने, अक्षरहरुसँग विमर्श गर्ने साह्रै कम छन् ।

एक अध्ययनले देखाए अनुसार वर्षमा ७० वटा पुस्तक पढ्नेहरु मात्र असल पाठक हुन् ।  हाम्रो सन्दर्भमा भने कम्तिमा २० वटा पुस्तक पढ्ने भेट्नु पनि चामलमा बियाँ खोजे सरह छ । अझ त्यसमा पनि गहिरो अध्ययन गर्ने पाठकहरु साह्रै कम छन् । पुस्तकको कभर हेरेकै भरमा वा सुनेकै भरमा ठूला ठूला कुरा गर्ने, अझ बहसमै उत्रन समेत हिम्मत गर्नेहरुको संख्या भने बाक्लो छ । अहिलेको बढ्दो यान्त्रिकीकरणसँगै मान्छेका मन भुलाउने ठाउँहरु बग्रेल्ती छन् । यहि यान्त्रिकीकरणको बजारमा पुस्तक पढ्ने संस्कृति ओझेलमा परेको हो । त्यसमाथि पनि हरेक कुरालाई मौद्रिकीकरण गर्ने उपभोक्तावादी चिन्तनले पठनको महत्वलाई ओरालो खेदेको छ । पुस्तक पढेर के हुन्छ ? भन्ने सोँच व्याप्त छ । पुस्तक पढ्नुलाई नितान्त अनुत्पादक ठान्ने चिन्तनले हाम्रो पठन सँस्कृति विकास हुन सकिरहेको छैन । जबसम्म हामी अध्ययनको उद्धेश्यमाथि प्रष्ट हुन सक्दैनौ हाम्रो पठनको भोक जाग्दैन ।

पाठकहरु आफ्नो रुची अनुसारको पुस्तक खोज्ने गर्दछन् । तर, कतिपय पुस्तकले निराशा, कुण्ठा एवं पलायनतर्फ धकेल्छन् । त्यसैगरी उपयुक्त पुस्तकको छनौट गर्न नसक्दा किताबी संख्या बढे पनि यथार्थमा अध्ययनको सँस्कृति फष्टाएको मान्न सकिँदैन । विज्ञापन र सस्तो प्रचारबाजीले एकातिर राम्रा पुस्तकहरु छायाँमा परेका छन् भने अर्कोतर्फ कमसल पुस्तकहरु पढ्न पाठक बाध्य छ  जसले समय र पैसा दुवैको नोक्सानी सिवाय अरु केही उपलब्धि दिँदैन । एउटा राम्रो पुस्तकको अध्ययन उक्त पुस्तकको अन्तिम पृष्ठपछि सकिने गर्दैन । बरु त्यसपछि पाठकलाई थप खोज अनुसन्धान, चिन्तन र सृजनाको निम्ति उत्प्रेरित गर्दछ ।

अध्ययन गर्नु खासमा आफ्नो चेतनाको क्षितिज फराकिलो पार्नु हो । जुन पुस्तकको अध्ययनबाट कुनै ज्ञान, तथ्य, अनुभव वा जानकारी केहीपनि प्राप्त हुँदैन, केवल सस्तो मनोरञ्जन मात्र दिने गर्दछन् ती पुस्तकहरु खासमा नाममात्रका पुस्तक हुन् । फ्रान्सिस् बेकनले भनेका छन्, केही पुस्तकहरु चाख्नका लागि हुन्छन्, केही चपाउनका लागि र केही पचाउनका लागि । अर्थात्, राम्रा पुस्तकहरु पचाउने हिसाबले पढिनु पर्दछ । पचाउनुको अर्थ पुस्तकमा टंकण गरिएका शब्दहरुका शाब्दिक अर्थ मात्र बुझ्नु नभएर त्यसमा व्यक्त विचारहरुमाथि अप्रेशन गर्न सक्नुपनि हो । हरफहरुको बीचमा लुकेका अर्थहरुलाई सतहमा ल्याउन सक्नु खासमा साँचो अध्ययन हो । त्यसको निम्ति पाठकमा धैर्य एवं आलोचनात्मक चिन्तन हुनुपर्दछ । कतिपय मान्छेहरु भन्ने गर्दछन् धेरै पढ्नेहरु पागल हुने गर्दछन् । खासमा कम पढेर धेरै बोल्नेहरु पागल हुन्छन् । अध्ययनलाई व्यवस्थापन गर्न नजान्दा कतिपय धेरै पढ्छु भन्नेहरु पनि कुहिरोको काग बनिरहेका प्रसस्त उद्धाहरणहरु छन् । अध्ययनको व्यवस्थापनभित्र पुस्तकको छनौट देखि अध्ययनको उद्देश्य र अध्ययन पछिको विश्लेष्ण पनि पर्दछ ।

कोरा पठनले मात्र अध्ययनको दायरा फराकिलो हुँदैन । पुस्तकको छनौट गर्दा आफ्नो रुचीलाई त अवश्य ख्याल गर्नुपर्दछ तर त्यो रुचीको निर्माण कसरी हुन्छ भन्ने पनि बुझ्न जरुरी छ । जीवनका अन्य क्षेत्रमा जस्तै अध्ययनमा पनि आफ्ना रुचीहरु जन्मजात लिएर कोहि पनि आएको हुँदैन । व्यक्तिको परिवेश, साथी सँगत र उत्प्रेरणाहरुले रुचीको निर्माण हुने गर्दछ । उदाहरणका लागि कुनै समय कार्ल मार्क्स केवल दर्शन र राजनितिक पुस्तकमा बढी घोत्लिने गर्दथे । उनका रचनाहरु पनि त्यसैमा केन्द्रित थिए । तर, फ्रेडरिक एंगेल्सको साथ सहयोग र सुझावले उनी अर्थशास्त्रको अध्ययनमा लागे । फलतः ‘पूँजी’ जस्तो महत्वपूर्ण कृति जन्मियो ।

आफ्ना रुची अनुसारका पुस्तक छनौट गरिरहँदा एउटा पाठकले सरलदेखि जटिल खालका पुस्तकहरु छान्नु पर्दछ । जस्तै, दार्शनिक पुस्तक पढ्न मनपराउने पाठकले सुरुमा दर्शनका प्रारम्भिक ज्ञान दिने पुस्तकहरु पढ्नु उपयुक्त हुन्छ । सुरुमै नित्से, मार्क्स वा फुकोका किताबहरु पढ्न खोज्दा रनभुल्लमा पर्न सकिन्छ । केही हरफहरु वा उद्गारहरु त कण्ठस्थ गर्न सकिएला तर साँचो अर्थमा दर्शन बुझ्न सकिँदैन ।

रुचीबारे चर्चा गरिरहँदा अर्को एउटा विषयमा पनि ध्यान दिन जरुरी छ । कुनै पनि एउटा विषय बाँकी अरु सबै विषयहरुसँग नितान्त असम्बन्धित हुँदैन । जस्तै साहित्यमा रुची राख्ने पाठकले केवल साहित्यको मात्रै पुस्तक पढ्नुपर्दछ भन्ने हुँदैन । अथवा, यसो भनौँ, केवल साहित्यका पुस्तक मात्रै पढेर उसले साहित्य बुझेको छ भन्ने हुँदैन । यदि कसैले मध्य युगीन अंग्रेजी साहित्य पढिरहेको छ भने उसले कम्तिमा त्यो समयको ईतिहास बुझेको हुनुपर्दछ । अन्यथा उक्त पाठकले पुस्तकको शब्दार्थ मात्र बुझिराखेको हुन्छ । वास्तविक अर्थ बुझेको हुँदैन । तर, बिडम्बना हाम्रो पठन लगाम बाँधेको घोडा जस्तो छ । एउटा कविले कविताका संग्रहभन्दा बढी केही पनि पढीराखेको हुँदैन । एउटा आख्यानकारले आख्यानभन्दा अरु पुस्तकहरु छुँदैन । यस सम्बन्धमा चर्चित भौतिकशास्त्री फेम्यान र लेखक सलमान रुस्दीको एउटै मत छ । उनीहरु दुबैले अध्ययनमा मल्टिडिस्पिलिनरी अप्रोचलाई जोड दिन्छन् । त्यस्तै अध्येता मोति निसानी पनि विभिन्न फरक फरक विषयहरु एकआपसमा अन्तरसम्बन्धित हुने स्वीकार गर्दछन् ।

भारतकी चर्चित लेखक अरून्धति रोयले ६/६वटा गैरआख्यानका पुस्तक लेखिसकेपछि एउटा उच्च कोटीको आख्यान लेख्न सक्छिन् भने जीवनभर आख्यान लेखिरहेका र आख्यान नै पढिरहेका हाम्रा लेखकहरुबाट किन एउटा पनि गतिलो आख्यान लेखिँदैन ? कारण त्यही छ हाम्रा लेखकहरु गतिला पाठक हुन सकेनन् । उनीहरु विषयको साँघुरो घेराबाट बहिर आउनै सकेनन् । उनीहरुले जीवनभर केवल आख्यान नै पढिरहे त्यो पनि आफुजस्तै लेखकहरुको चुरो कुरा यहि हो । युरोपको इतिहास राम्रोसँग नबुझेको एउटा पाठकले जतिसुकै रुची भए पनि अंग्रेजी उपन्यास पढेर बुझ्न सक्दैन । यो त भयो रुचीको कुरा ।

अर्को महत्वपूर्ण कुरा अध्ययनको उद्देश्यमा स्पष्ट हुनु । जसरी एउटा लेखकको लेख्नुका आफ्नै उद्देश्यहरु हुन्छन् त्यसरी नै पाठकको पनि अध्ययनका उद्देश्यहरु स्पष्ट हुनु पर्दछ । उद्देश्यहरु जस्ता पनि हुन सक्दछन् । कसैले केवल मनोरञ्जनकै निम्ति मात्र पढीरहेको हुनसक्छ । उसले जोक्स वा चुट्किलाका पुस्तकहरु पढे पुग्छ । कसैले समय कटाउनकै निम्ति पनि पढिरहेका होलान् जसरी धेरै मान्छेहरु कमिक्स् वा जासुसी पुस्तकहरु पढेर पनि दिन काटिरहेका हुन्छन् । तर, जसले अध्ययनलाई ज्ञान आर्जन सँगसँगै सामाजिक रुपान्तरणको ढंगले बुझेको हुन्छ उसले गम्भिर अध्ययन गर्न जरुरी छ । आफ्नो अध्ययनले आफु बाँचेको युगलाई सेवा गर्ने उद्देश्यले पढ्नेहरु अन्य पाठकहरुभन्दा बढी सम्वेदनशील र आलोचनात्मक हुन जरुरी छ । आफ्नो अध्ययनबाट प्राप्त ज्ञानको भरमा आफु बाँचेको समाज देश र सम्पूर्ण विश्वलाई आलोकित पार्ने ध्येयले पढ्ने पाठकहरु विषयमा स्पष्ट र लक्ष्यमा प्रष्ट हुन जरुरी छ । उनीहरुले आफू पूर्णतया स्पष्ट भएका विषहरुलाई समाजमा हस्तान्तरण गर्नु जरुरी हुन्छ ।

कहिलेकाहिँ भन्ने गरिन्छ, दिमागको ज्ञान काम लाग्दैन । त्यसको शाब्दिक अर्थ जसरी बुझेपनि सारमा एउटा पढेको वा अझ भनौँ बुझेको मान्छेले पुस्तकको ज्ञानलाई सन्दुकमा धन लुकाए जसरी दिमागमा लुकाएर मात्र राख्छ र व्यवहारिक प्रयोगमा ल्याउँदैन भने उसले अध्ययनको खास उद्देश्य बुझेको ठर्हदैन । त्यसैले अध्ययनलाई अलिक व्यापक अर्थमा बुझौँ, पुस्तकलाई केवल बसिबियाँलो नबनाउँ । सहि पुस्तकहरु छनौट गरौँ । छामेकै भरमा वा सुँघेकै भरमा धेरै पुस्तक पढेको दम्भ नगरौँ । पढेर अरुका कमजोरीहरुमाथि ऐना देखाउने काम मात्र नगरौँ । आफ्नै कमजोरीहरुको पनि उत्खनन् गरौँ । पुस्तकहरु सोकेसमा सजाउने जिनिस होईनन् न झुठो सान र अभिमानका श्रीपेच हुन् । पुस्तकहरु पढिनका लागि लेखिएका हुन् । विषयहरु बुझिनका लागि छापिएका हुन् । ज्ञानहरु रुपान्तरणका बत्ती हुन् ।

शंकर भण्डारी

भलाकुसारी ब्लगबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here