सञ्चारमन्त्रीको ठाडो आदेशमा टेलिभिजन कार्यक्रम ‘सिधा प्रश्न ?’ बन्द

0
880

काठमाडौं । नेपाल टेलिभिजनबाट विगत १२ वर्षदेखि नियमित प्रसारणमा रहेको ‘सिधा प्रश्न ?’ नामक बहस कार्यक्रम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको ठाडो आदेशमा बन्द भएको छ ।

कार्यक्रम सञ्चालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन् । कार्यक्रम सञ्चालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए ।

हुनत वर्तमान सञ्चारमन्त्री बाँस्कोटा पत्रकार नै हुन् । उनी अझैसम्म पनि नेपाल पत्रकार महासंघको सदस्य छन् ।

राजु थापा लेख्छन्

संचारमन्त्रीको ठाडो निर्देशनमा राजु थापाको सिधा प्रश्न ? कार्यक्रम बन्द ।

नेपाल टेलिभिजनमा बिगत १२ बर्ष देखी सन्चालित कार्यक्रम सिधा प्रश्न ? संचारमन्त्री तथा सरकारका प्रबक्ता गोकुलप्रसाद बास्कोटाको ठाडो निर्देशनमा बन्द गरिएको हो । केही दिन अघि सोही कार्यक्रममा मन्त्री बास्कोटाले Live अन्तर्वार्ता दिंदा झुट् बोलेको कुरा सामाजिक सन्जालमा Viral ( हेर्नुहोस https://youtu.be/_KTNjABx5CQ ) भएपछि रिसाएर उक्त गलत कदम चालेका हुन् ।

देशका जनताको सुचनाको सम्बैधानिक हक प्रत्याभुत गराउने, स्वतन्त्र प्रेसलाई प्रबर्द्धन गर्ने महत्वपुर्ण जिम्मेवारीमा रहेका सरकारका प्रबक्ताको यो कदमले के यो सरकार स्वतन्त्र प्रेस गतिबिधिको विपक्षमा छ? सत्तालाई जवाफदेही बनाउने पत्रकार र सन्चार माध्यम नियन्त्रण गर्न चाहन्छ ? त्यस्तो कदम लोकतान्त्रिक हुनसक्छ ? सत्ताको भुत र मातले गरिने यस्ता गतिबिधिले सरकारको “सम्ब्रिध्द् नेपाल सुखी नेपाली” नारा हात्तिको देखाउने दांत मात्रै त हुँदैन ? भन्ने प्रश्न उठेको छ ।

अन्तर्वार्ताको दिनमा भित्र र बाहिर समेत मन्त्री बास्कोटाको शैली कुनै श्री ३ महाराजको भन्दा कम महशुस भएन । मैले यति धेरै दबाब बोध् गत १२ बर्षमा सायदै गरें होला । मन्त्रिले टेलिभिजनका पत्रकार र कर्मचारीलाई हाता भित्र पसे देखि नै नमस्कार नफर्काउने, हप्काउने, दप्काउने गरेको देखेर म सहस्र पासले बाँधिए झै भएर अन्तर्वार्ता लिन बसेको थिए । अन्तर्वार्ता (हेनुहोस पुरा अन्तर्वाता https://youtu.be/AaUDKRdqXfk) दिंदा र अघि पछिको ब्यबहारले यस्तो लाग्थ्यो कि मन्त्रि हामीलाई आफ्नो रैति ठान्छन् ।

सभ्य लोकतान्त्रिक अभ्यास र सचेत जनता हुने देशमा मन्त्रिले बोलेको सफेद झुट् र गरेको गलत कार्य वापत मन्त्रि पद गुमाउनु पर्थ्यो होला तर हाम्रो देशमा उल्टै शासकको कोपभाजनमा पर्नुपर्छ । जनताको सुचनाको हक र प्रेस स्वतन्त्रताका बिरुद्ध् चालिने यस्ता अधिनायकबादी कदमको सम्बद्ध् सबै पक्षबाट उचित मुल्यांकन र प्रतिक्रिया हुनेनै छ ।

१२ बर्ष वर्षसम्म टेलिभिजन कर्म गर्दा मैले जनता र देशलाई केन्द्रमा राखेर कर्तब्य निर्वहन गर्ने कोशिस गरे ।

टेलिभिजन पत्रकारिता गर्ने क्रममा मलाई माया, साथ, सहयोग, सद्भाव दिने र आलोचना गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्दछु। नमस्कार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here