केपी ओली सरकार शोषक होः पूर्व प्रधानन्यायाधीश कार्की

0
97

पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले वर्तमान सरकारलाई नेपाली जनताको खुशी खोस्ने शोषक रहेको आरोप लगाएकी छिन् ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा कार्कीले वर्तमान सरकार गरिब जनताको नभई ठूलाबडाको मात्रै रहेको भन्दै यो सरकारलाई शोषक सामन्त सरकारको संज्ञा दिएकी हुन् । मैदानमा होउन्जेल विरोध गर्ने, उत्श्रृंखल काम गर्ने तर आफू सरकारमा पुगेपछि विपक्षीलाई विरोध गर्न पनि नदिने जस्तो सामन्ती व्यवहार वर्तमान सरकारले गरेको भन्दै कार्कीले भनिन्, ‘विरोध जसले पनि गर्न पाउनुपर्छ, तोडफोड मात्रै गर्न नपाउने हो ।’

त्यस्तै अनसनरत डा.गोविन्द केसीको मागलाई सरकारले वेवास्ता गरेको उनले आरोप लगाईन् । डा. केसीले गरिब जनताको स्वास्थ्योपचारका लागि लडाईँ लडेको भएपनि सरकारले डा.केसीको मागलाई वेवास्ता गरेको उल्लेख गरिन् । कार्कीले गरिबको पक्षमा उभिएका चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन नगरे गरिब झनै मारमा पर्ने अवस्था आउने उनको धारणा थियो ।

केदारभक्त माथेमा आयोगले खडा गरेको सम्पूर्ण कुरा खारेज गरेर व्यापारी पोस्ने काम गर्नुले सरकारको शोषक र सामन्ती चरित्र उदांगो भएको बताइन् ।

सरकारले शोषक, सामन्ती व्यापारीलाई सहयोग गर्न माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएको उनले दावी गरिन् । कार्कीले प्रधानमन्त्रीलाई इंगित गर्दै भनिन्, ‘तपाईँ त सामन्ती हुनुहुँदो रहेछ । मुखले ठूला–ठूला सैद्धान्तिक कुरा गर्ने तर व्यवहारमा भने सम्पूर्ण कै पनि गर्न नचाहने ।’

जनयुद्ध कालमा यो देशमा १५ हजार मान्छेले ज्यान गुमाएको स्मरण गर्दै पूर्व न्यायाधीश कार्कीले भनिन्, ‘यही गरिबी तपाईहरु राख्नुहुन्छ, तस्करलाई सहयोग गर्नुहुन्छ । हुनेखानेको पक्षमा मात्रै पृष्ठपोषण गरी तिनकै नायिकै बनेमा तपाईहरु हिड्नुहुन्छ भने अझै ३० हजार मान्छे मर्छन् ।’ सत्तामा भएका मान्छेहरुलाई सेना, पुलिस आर्मीले जोगाएको भन्दै गरिबलाई कसैले पनि वास्ता नगरेको उनले बताइन् ।

यत्रो बलिदानबाट प्राप्त गणतन्त्र संघीयतापछि पनि गरिवले अझै दुई छाक खानकै लागि संघर्ष गरिरहेका भन्दै, ‘खै जनताले के पाए, ठूला बडाले मात्रै पाएर हुन्छ ?’

छोराको हत्यारालाई कारबाही गर्न माग राख्दै आमरण अनसन बसेकी गंगामायालाई न्याय दिलाउने अभियानमा जुट्न पनि सबैलाई आह्वान गरिन् । गंगामायाले गरेकाे शाहसकाे प्रशंसा गर्दै नेताहरूले उनीहरूसँग माफ माग्नुपर्ने उल्लेख गरिन् । सरकारले गंगामायाको माग सम्बोधन नगर्नु दुःखद पक्ष भएको भन्दै सबैले आफ्नो पक्षबाट उनलाई न्याय दिलाउन सहयोग गर्नुपर्ने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here