माछापुच्छ्रे: आरोहण खुल्ला गर्नेबारे चर्किँदो विवाद

0
103

पश्चिम नेपालको प्रसिद्ध माछापुच्छ्रे हिमाल पर्वतारोहणका लागि खुल्ला गर्ने गाउँपालिकाको नयाँ पहललाई लिएर बहस शुरू भएको छ।

गत असार १० गते माछापुच्छ्रे गाउँपालिकाको एउटा बैठकले आफ्नो गाउँको शिरमा अवस्थित प्रसिद्ध हिमाललाई चढ्नका लागि खुल्ला गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो।

तर एक संस्कृतिविद्ले माछापुच्छ्रे हिमाल हिन्दू देवताको शिरको प्रतीक भएकोले त्यसमाथि चढ्न नहुने मत राखेका छन्।

कास्कीको पोखराको फेवातालमा छाया देखिने सुन्दर माछापुच्छ्रे हिमाल आरोहणका लागि खुल्ला छैन।

समृद्धिको सपना

तर अब त्यो हिमाल आरोहणका लागि खोल्न संघीय सरकारलाई औपचारिक रुपमा अनुरोध गर्न लागिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले बीबीसीलाई बताए।

उनले भने, “यो हाम्रो जनजीविकासँग जोडिएको विषय हो। सरकारले सन् २०२० सम्ममा देशमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। हामीले पनि हाम्रो क्षेत्रबाट एउटा नयाँ पर्यटकीय प्रोडक्ट (वस्तु) दिन खोजेका हौँ।”

यस विषयमा पटक पटक प्रतिक्रिया लिन खोज्दा पनि कास्की जिल्लाबाटै निर्वाचित भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी उपलब्ध भएनन्।

हुन त माछापुच्छ्रे आरोहण प्रयास आजभन्दा करिब ६१ वर्षअघि नै भइसकेको थियो।

सन् १९५७ मा ब्रिटिश पर्वतारोही जिमी रोबर्ट्स ६,९९३ मिटर अग्लो माछापुच्छ्रेको चुचुरोभन्दा केही तलसम्म पुगेको जानकारहरू बताउँछन्।

त्यसयता त्यो हिमाल आरोहण भएको छैन। तर आरोहणका लागि खुल्ला हुनुपर्ने बहस यसअघि पनि बेलामा भइसकेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए।

लम्बिँदो बहस

उनले भने, “यसबारे पहिला पनि बहस भएको हो। तर ‘माछापुच्छ्रे हिमाल चढ्न हुँदैन’ भन्ने मानिसहरूले त्यो हिमाल खुल्ला गर्न दिन मानेनन्।”

शेर्पा र अन्य पर्यटन व्यवसायीहरू माछापुच्छ्रे हिमाल खुल्ला भएमा माछापुच्छ्रे हिमाल मुनिका गाउँ बस्तीमा समृद्धिको ढोका खुल्ने अपेक्षा गर्दछन्।

तर गण्डकी प्रदेशमै जन्मिएका संस्कृतिविद् डा. जगमान गुरुङका विचारमा माछापुच्छ्रे हिमाल हिन्दू देवताको प्रतीक भएकोले त्यो हिमाल आरोहण गर्नु हुँदैन।

उनले भने, “माछापुच्छ्रे भनेको माछाको पुच्छर होइन शिर हो। त्यो हिमालको चुचुरा नर र नारायण भन्ने तपस्वीहरूको प्रतीक हो। त्यसैले नर र नारायणको शिरमा मानिसको पाइलो टेक्नु हुँदैन भन्ने मेरो अभिमत हो।”

उनका विचारमा माछापुच्छ्रे जस्तै मादी नदीको शिरमा रहेको अन्नपुर्ण प्रथम पनि देवताको प्रतीक भएकोले त्यो शिखर पनि आरोहण गर्न हुँदैन।

पूजा-प्रार्थना

मध्य नेपालको गौरीशंकर हिमाल पनि देवी-देवताको नामबाट राखिएको छ।

तर त्यो हिमाल आरोहणका लागि खुल्ला भएपछि स्थानीयवासीलाई लाभ भएको नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङ छिरिङ शेर्पा बताउँछन्।

खुम्बु क्षेत्रमा पवित्र मानिने आमादब्लम हिमाल पनि पहिले खुल्ला थिएन।

शेर्पाले भने, “तर त्यो खोलेपछि त्यसले निकै ख्याति कमाएको छ र स्थानीयवासीले निकै लाभ लिइरहेका छन्।”

सर्वोच्च शिखर सगरमाथालाई पनि तिब्बती र शेर्पा समुदायका मानिस देवीको प्रतीक मानेर पुज्ने गर्दछन्।

त्यसैले चोमोलोङ्मा पनि भनिने सगरमाथा चढ्नुअघि आरोहीहरूले पूजा-प्रार्थना गर्ने चलन छ।

नेपाल पर्वतारोहण संघका अनुसार नेपालमा ५,८०० मिटर भन्दा अग्ला १,७९२ हिमाल चुचुरा मध्ये १,३८९ आरोहणका लागि अझै खुल्ला छैनन्।

ती मध्ये ४०३ हिमाल चुचुराहरू मात्र आरोहणका लागि खुल्ला छन्।

बिबिसीबाट साभार

सरेन्द्र फुयालको रिपोर्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here