बेगनासताल दुर्घटनाः बेपत्ता ६ जनाकै शव भेटियो, यसरी भएको थियो दुर्घटना ?

0
341

सिकारु चालक, लाइफ ज्याकेट बिनाको यात्रा 

पोखरा । शनिबार पोखरा–३१ बेगनास गाउँ जान १० जना सवाररत डुंगा पल्टिँदा बेपत्ता भएका ६ जनाकै शव फेला परेको छ । शनिबार रातिसम्म बेपत्ता २ जनाको शव फेला परेको थियो भने आइतबार आज बिहान बेपत्ता रहेका ६ जनाको शव फेला परेको हो ।

४ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरुले आइतबार बिहानैदेखि नै तालमा बेपत्ता रहेकाको खोजी कार्य जारी राखेको थियो । यो समाचार तयार पारेको एक घण्टाअघि मात्र बेपत्ता ४ जनाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा २८ कि कृष्ण कुमारी बजगाई र पोखरा ३१ कि जमुना कँडेल रहेका छन् ।

तालबाट २८ वर्षीया सपना खनाल र निशा पौडेलको उद्दार भएको थियो । अर्को डुंगामा एक्लै गएका कमल कँडेल तालमा डुंगा पल्टिएको देखेपछि बेहोस भएका थिए । उनी पनि तालमा खसेपछि उद्दार टोलीले उद्दार गरेको थियो ।

स्थानीयले कमल, कृष्णकुमारी, जमुना कँडेल र निशा पौडेललाई उद्दार गरी अस्पताल पुर्याएका थिए । जमुनाको पश्चिमाञ्चल क्षेत्रीय र बजगाईंको लेखनाथ लायन्स सामुदायिक अस्पतालमा मृत्यु भएको हो । कमल र निशाको लेखनाथमै उपचार भइरहेको छ ।

त्यस्तै तालमा बेपत्ता भएका नवलपरासीका ६ वर्षीय शंकर खनाल, ८ वर्षीय शिव खनाल, ५ वर्षीय प्राचिन पौडेल र ४ वर्षीय रन्जित गैरेको शव प्रहरीले आइतबार बिहान फेला पारेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवराज भट्टले जानकारी दिए ।

एसपी भट्टका अनुसार ३२ वर्षीय रवि खनाल र १८ वर्षीया मनिषा बजगाईंको शव पनि केही समयअघि मात्र फेला परेको हो ।

दुर्घटनालगत्तै खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुंगा व्यवसायी र स्थानीय खटिएका थिए । बेपत्ताहरुको खोजीका लागि सशस्त्र प्रहरीको कुरिनटारको गोटाखोर टोली पनि आएको प्रहरीले जानकारी दिएको छ ।

५ जना मात्र चढ्नुपर्ने डुंगामा सानाठूला गरी ९ जना थिए । उनीहरु बेगनासकी कमल र शोभा कँडेलको घरमा गरिएको दर खाने कार्यक्रममा आएका थिए ।

यस्तो थियो योजना ?

रवि खनाल नेपाली सेनाका प्युठ हुन् । बढुवा भएको खुसीयालीमा पोखरा घुमघाम गर्ने, आफन्तसँग भेट्ने र पोखरातिरै घर किन्ने भनेर खनाल परिवार पोखरा गएको थियो ।

खनालकी श्रीमती सपनाका अनुसार, यसअघि रविले कहिल्यै पनि डुंगा चलाएका थिएनन् । ससुराली जाँदा बेगनासतालमा एकपटक आँफैले डुंगा चलाएर ताल घुम्ने रहर सुनाएका थिए रविले ।

रविकै जोडबलमा, डुंगा आफैँले लिएर जाने योजना भयो । आफूसहति १० जना भएपछि उनले डुंगा अगाडि बढाएका थिए । पाहुनालाई एक्लै डुंगामा छोड्न नसकेर कमल अर्को डुंगा लिएर पछि लागेका थिए ।

सपना कमलकी साढुकी छोरी हुन् । पोखरामै घर किन्ने भनेर रविले २ दिन पहिला मात्र गैंडाकोटको घर बेचेका थिए । घर बेचेर लिएको चेक पनि रविकै खल्तीमा थियो ।

यसरी पल्टियो डुुंगा ?

लिब्दी किनार आउन सय मिटरजति बाँकी थियो । अब त पार हुन लागियो भनेर सपनाले ढुक्कको सास फेरेकी थिइन् । त्यतिबेलासम्म डुंगाको पिँधमा पानी भरिएको थियो । पानी पसेपछि केटाकेटी चल्न थाले । ठाउँ छाडेर उनीहरु उठे ।

पानीले पिँध भरिएको देखेपछि रवि पनि आत्तिए । खियाउन छाडेर बच्चाबच्ची सम्हालन पुगे । यत्तिकैमा डुंगा कोल्टिहाल्यो । पानीले डुंगामा भरियो । सपनाले छोराहरु शंकर र शिवलाई दुबै हातले च्यापिन् । सबैजना तालमा खसे । अर्को डुंगामा पछि आइरहेका कमल अघिल्लो डुंगा डुबेको देखेर बेहोस भए ।

केहीबेरसम्म त सपनाले २ छोरालाई समातेर तैरिने कोसिस गरिन् । तर प्रयास असफल भयो । जसोतसो पौडी खेलेर किनारमा निस्केपछि केही पर रहेकी अनिता हिमालीले उनको गुहार सुनिन् । सुनिताले नै डुंगा व्यवसायी समितिका पदाधिकारीलाई फोन गरेर उद्धारका लागि बोलाएकी थिइन् ।

डुंगाघाट मन्दरेपार्कमा रहेका डुंगा व्यवसायी समितिका सचिव पुष्पराज पाण्डेसहितको टोली मोटरबोट लिएर १० मिनेटभित्र घटनास्थलमा पुगेका थिए ।

विगतलाई सम्झिँदा…

६ वर्ष पहिला बेगनासतालमा परिवारसहितको डुंंगा डुब्यो । डुंगामा यात्रारतमध्ये लाइफ ज्याकेट लगाएका बाँच्न सफल भए । ज्याकेट नलगाएका ५ जनाको डुबेर मृत्यु भयो ।

त्यसपछि जिल्ला प्रशासन कास्कीले बेगनास र फेवामा लाइफ ज्याकेट अनिवार्य गर्यो । व्यावसायिक डुंगामा त यो नियम लागु भयो । तर घरायसी प्रयोगका डुंगालावालाले यो नियमलाई बेवास्ता गर्दै आए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here