निर्मलाकी आमा भन्छिन्- कि न्याय देऊ कि गोली ठोक

0
110

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्त न्याय खोज्दै काठमाडाैं अाएकी छन् ।

रिपोर्टर्स क्लबमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा दुर्गादेवीले राष्ट्रपति पनि एउटा आमा भएकाले आफ्नै छोरी सम्झिएर न्याय दिने आशा व्यक्त गरिन् ।

उनले भनिन्- ‘अहिलेसम्म हत्यारा पत्ता लागेर हाम्रोसामू खडा भएन । हामी न्याय खोज्न यहाँ आएका छौं । न्याय दिन सक्नुहुन्न भने– हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला ।’

न्याय खोज्दै काठमाडौं आइपुगेकी दुर्गाले न्याय नदिने भए आफूलाई गोली ठोक्न सकारलाई आग्रह गरिन् ।

उनले अगाडि थपिन्, ‘न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनू, तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।’

पत्रकारहरुका अगाडि बोल्ने क्रममा गला अवरुद्ध पार्दै उनले भनिन्, ‘मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु ।’

के भनिन् दुर्गादेवीले ?
प्रधानमन्त्रीज्यू यहीँ हुनुहुन्छ । महिला राष्ट्रपति पनि यहीँ हुनुहुन्छ । न्याय दिलाउने जिम्मा उहाँहरूमा छ ।

न्याय दिनुहुन्छ भनेर प्रधानमन्त्रीको शरणमा आएका छौं । राष्ट्रपति पनि आमा हुन् । मेरो मात्र छोरी नसम्झिनुस् । तपाईंको पनि छोरी सम्झिनुस् । मेरो छोरीको ठाउँमा आफ्नो छोरी भएको भए के हुन्थ्यो भन्ने सम्झेर न्याय दिनुहुन्छ भनेर आएकी छु ।

एकदिन पनि छोरीविना बाँच्न गाह्रो हुने मान्छे अहिले दुईवटा छोरीहरू छोडेर आएकी छु । न्याय दिनुस् । अहिलसम्म जस्तै भुलाएर नफर्काइदिनुहोला । न्याय नपाई कसरी फर्किनु ।

न्याय दिन सक्नुहुन्न भने– हामी न्याय दिन सक्दैनौं, तपाईंलाई मार्न चाहन्छौं भन्नुहोला । मेरो छोरीको बलात्कार भएर बितेर अहिले देश नै रोइरहेको छ । मलाई पनि मार्छु भन्नुस्, गोली ठोक्नुस् । म पनि मर्न चाहन्छु । जसरी पनि न्याय दिनुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here