‘भारतले फेरि पनि नेपालमा नाकाबन्दी लगाउन सक्छ’

0
226

बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधी (पिएचडी) गरेका प्रोफेसर डाक्टर सुशील पाण्डे अन्तर्राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासो राख्छन् । त्रिभुवन विश्वविद्यालयमा १६ वर्षभन्दा बढी प्रोफेसर भएर काम गरेका प्रोफेसर पाण्डेले अमेरिकाको एउवर्न विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका हुन् । अन्तर्राष्ट्रिय विषयमा ३८ वर्ष लामो अनुभव संगालेका पाण्डेले हाल इन्सिटच्युट अफ एडभान्स कम्युनिकेसन एजुकेशन एण्ड रिसर्चमा अध्यापन गराउँदै आइरहेका छन् । अन्तर्राष्ट्रिय मामिलामा गहिरो अध्ययन भएका उनले अमेरिकाका केही नाम चलेका विश्वविद्यालयमा समेत भिजिटिङ प्रोफेसरका रुपमा काम गरेका छन् । नेपाल, भारत तथा चीन सम्बन्धमा राम्रो जानकार मानिने पाण्डेसँग पाेखराटाइम्सका लागि रवि अधिकारीले गरेको कुराकानीः

पछिल्लो समय चीन र नेपालको सम्बन्धलाई लिएर ठुलै टिकाटिप्पणी हुने गरेको छ ? चीनसँग नेपालले बढाएको झुकावलाई कसरी हेर्नु भएको छ ? 

यो नेपालले लिएको सकारात्मक कदम हो । भारतले नेपालप्रति गर्ने व्यवहारलाई यो कदमले केही हदसम्म दबाब दिने कुरामा दुईमत हुनसक्दैन । भारतले नेपाल ल्याउन सक्ने विकास योजनालाई समेत चीनसँगको नेपालसम्बन्धले थप चुनौती थपिदिएको छ ।

पछिल्लो समय नेपालमा चीनको रेल पहिला आउने कि भारतको रेल पहिला आउने व्यापक चर्चा चलिरहँदा नेपालको विकासले द्रुत गति पाउने हो कि भन्ने विश्वास र आशा पनि बढेको मैले देखेको छु । चीनको रेल आउन केही समय लाग्ला । तर, चीनप्रतिको सम्बन्ध सन्तुलित राख्न नेपालको राजनीतिक वातावरण भने सुध्रिनु आवश्यक रहेको छ ।

नेपालको राजनीति पुर्णरुपमा व्यवस्थित हुन सकेमा चिनियाँ लगानीकर्ताहरु आँटेरै लगानी गर्न आउँनेछन् । प्रचण्ड पनि यस विषयमा गम्भिर रहेको र चीन र भारतसँगको सम्बन्ध सुधार गरेर लगानी भित्राउन उद्त रहेको देखिन्छ । उनको पछिल्लो भ्रमणहरुले पनि यही कुराको इंगित गर्छ ।

नेपाल चीनप्रति बढी नै आशावादी भएको देखिन्छ ? कुटनीतिक हिसाबले यो कति ठीक हो ? 

नेपालले आफ्नो कुटनीतिक सम्बन्धको दायरा फराकिलो पार्दै लैजानुपर्छ । विगतका अनुभवले पनि नेपाली राजनीतिज्ञहरुले पाठ सिकिसकेका छन् । आर्थिक विकासले चीनलाई विश्वभर नयाँ परिचय दिइरहेका बेला नेपालले चीनसँगको सम्बन्ध विस्तार गर्नु एकदमै जायज हो । उनीहरुले छोटो समयमा गरेको विकासबाट पनि नेपालले अहिले नसिके कहिले सिक्ने ? चीनप्रति नेपालको झुकाव बढ्नु एउटा प्रमुख कारण नाकाबन्दी नै हो । अर्को चाँहि चीनको इनिसियटिभ छ ‘वन बेल्ट वन रोड’ (ओविओर) योजनामा नेपाल पनि रहनु हो । स्वतन्त्र विचारले आएका विकासका एजेण्डाहरुलाई नेपालले रोक्नु हुँदैन ।

युरोपियन, एसियन, अफ्रिकन लगायत ८० देशभन्दा बढीलाई लक्षित गरी चीन सरकारले ल्याएको यो योजनाबाट नेपालले पनि लाभ लिनसक्नुपर्छ । चीनले आफुसँग रहेको अथाह धनराशी प्रयोग गर्न खोजिरहेको छ जसका कारण उसको ठुलो ट्रेड प्रोमोशन हुनेछ । यसको एउटा उदाहरण नेपालमा पनि उसको लगानी बढ्नुलाई देखिन्छ ।

चीन ठुलो पुँजी लगानी गर्न आतुर रहेको छ । नेपालमा व्यापार बढाउँदै उसले भारतमा पनि विस्तार गर्ने बृहत योजना बनाएको छ ।

भारतलाई यस कुराको हेक्का रहेको छ । त्यसलाई रोक्न पनि भारतले विभिन्न तहमा मिलेर योजनाहरु बुन्दै आएको देखिन्छ । बिमेस्टकलाई पनि नेपालले उचित तरिकाले प्रयोग सक्यो भने नेपालले धेरै फाइदा लिनसक्नेछ । हाम्रा कुटनीतिज्ञहरुले यसबारे कस्तो अवधारण ल्याउनछन् र काम गर्छन् त्यसले नेपालले के कति फाइदा लिन सक्छ त्यसमा भरपर्छ ।

भारतले गरेको नाकाबन्दी पछि के नेपालले चेतेरै चीनसँग सम्बन्ध विस्तार गरेकै हो त ? 

नेपालले पहिलादेखि नै वैकल्पिक पारवहान सुविधा  खोजेकै हो । भारतसँग नेपालको पारवहान सम्झौता रहेको छ । तर, चीनसँगको सम्बन्ध विस्तारपछि नेपालले पारवहान सम्झौता गर्नुले नेपाललाई थप सहज वातावरण निर्माण भएको छ । चीनसँग लामो समय वैकल्पिक बाटोका लागि छलफल भएतापनि त्यसको निष्कर्ष भने निस्कन सकेको थिएन ।

अब भने त्यो सुविधा नेपालले कसरी उपयोग गर्छ त्यो हेर्नु आवश्यक रहेको छ । टेक्नोलोजीमा पनि चीनसँगको सम्बन्ध विस्तार गर्नुले भारतप्रतिको निर्भरतामा पनि धेरै कमी आएको छ । चीनले लासामा सम्म अध्ययन गरिसकेका छन् । उनीहरुले अपत्यारिलो ठाउँमा समेत गरेको आश्यर्चजनक निर्माण कार्यले विश्व नै चकित रहेको छ ।

नेपालका ठाउँहरुबारे उनीहरुले पनि विस्तृृत अध्ययन गरेका छन् । उनीहरुलाई सिगात्सेदेखि केरुङसम्म रेल ल्याउन कुनै गाह्रो काम होइन । उनीहरुका लागि चार सय किलोमिटर सामान्य प्रोजेक्ट जस्तै हो । रेलबाट सिमानासम्म सामान ल्याउँदा सस्तो पर्छ । नेपाललाई सातवटा परावहान क्षेत्र प्रयोग गर्न दिनु नेपालप्रति गरेको एउटा ठुलो विश्वास पनि हो । उनीहरुले नेपालप्रति अपनाएको नीति प्रष्ट रहेका कारण पनि पछिल्लो समय नेपाल र चीन सम्बन्ध प्रगाण बनाएको छ ।

त्यस्तै भारतले फेरि पनि नाकाबन्दी नगर्ला भन्न सकिदैन । नेपाललाई चीनले बुझ्दै जानु प्रमुख कारण हो । नेपाल त्यति कमजोर नरहेको र आन्तरिक रुपमा आफु सबल रहेको र अन्तराष्ट्रिय जगतमा एउटा बलियो शक्तिका रुपमा उदयमान हुनुले चीनले आफ्नो नीतिमा क्रमश लचकता ल्याएको हो । नेपालले बुझ्नु पर्ने प्रमुख कुरा भनेको भारत विरोधी कार्य गरेर चीन नजिक हुनुहुँदैन भने चीन विरोधी भएर भारतको भर पनि पर्नु हुँदैन । नेपालल सन्तुलित सम्बन्ध राख्न सक्ने नीतिको विकास गर्न सक्ने हैसियत नेपालले बनाउने बेला आएको छ ।

चीनप्रति नेपालको यति धेरै झुकावले नेपाललाई कति फाइदा कति बेफाइदा तपाईले देख्नुहुन्छ ? 

नेपालले फाइदा लिने कुराहरु धेरै नै छन् । तर, नेपालले आफ्नो दायरा कति त्यो भने बझ्न आवश्यक छ । नेपालले सर्वपक्षिय फाइदाको हिसावले आफुलाई अगाडि बढाउनु आवश्यक छ । हामी अब ‘ग्लोबल वल्र्ड’ मा प्रवेश गरिसकेका छौ । विश्वपमा भएका परिवर्तनहरुलाई नेपालले बुझ्नु आवश्यक छ । चीन र भारतलाई मात्र हेर्नु नेपालको अर्को गल्ती हुनसक्छ ।

नेपालले चीन र भारतबाट कसरी फाइदा लिने भन्दा पनि सन्तुलित सम्बन्धका आधारमा कसरी विकास गर्ने त्योबारे ध्यान दिनु आवश्यक रहेको छ । नेपालले आफुलाई कसरी सुरक्षित राख्न सक्छ त्यसबारे पनि सजक रहनु आवश्यक रहन्छ । पछिल्लो समय कुटनीतिज्ञहरु, विश्लेषकहरुले चीन र नेपालको सम्बन्धलाई गरेको टिप्पणीले नेपालको चीनप्रति झुकाव बढेको गुञ्जय भने फैलिएको छ । चीनले हामीलाई सहयोग गर्छ कि भन्ने आश चाहिँ नेपालको धेरै नै छ । नेपालले चीनलाई बुझेरै सम्बन्ध अगाडि बढाएको भने देखिदैन । अप्ठेरो अवस्थामा चीनले गर्ने सहयोगको अपेक्षा भने नेपालले धेरै नै गरेको छ । तर, चीनलाई भन्दा पनि हामीले भारतलाई धेरै बुझेका छौँ । यो भने यथार्थ हो ।

नेपालमा चीनको लगानी बढेको बढ्यै छ ? भारतलाई पनि पछि पार्दै नेपालमा चिनियाँ लगानी बढ्नु र भारतसँग अलिक दुरीको सम्बन्ध बनाउनुले कुटनीतिक सम्बन्धमा यसले कस्तो असर पार्ला ? 

को सँग छ पैसा । उसैले लगानी गर्ने हो । चीनसँग लगानी गर्ने पैसा छ ।  चीनले देशमा मात्र नभइ विदेशमा पनि लगानी गर्ने क्षेत्रहरुको अध्ययन गरिराखेको छ । उसका ‘कोर आइडियाइजहरु’ एकपछि अर्को गर्दै आइराखेको छ । भारतसँग त्यो क्षमता रहेनछ । चीनको तुलनामा भारत कमजोर नै छ । त्यही रुपले चीनसँग भारतले प्रतिस्पर्धा गर्न सक्दैन ।

चीनको लगानी नेपालमा बढ्दैमा भारतसँग सम्बन्ध बिग्रिदैन । नेपालले आफ्नो विदेश नीतिमा प्रष्ट हुनसक्नुपर्छ । नेपालमा रहेका भारतीय मुलका व्यापारीहरुले चीनबाट सामान ल्याएर नेपालमा ठुलो व्यापार गरिराखेका छन् । कुटनीतिक सम्बन्ध एउटा ठाउँमा छ भने आन्तरिक व्यापार र अन्तरदेशिय व्यापारबाट को कति लाभान्वित भएका छन् त्यो पनि बुझ्न आवश्यक छ ।

चीनसँगको सम्बन्ध विस्तारले भारत खुसी नभएको टिकाटिप्पणी भइराखेको छ ? भविष्यमा यही स्थिति रहे भारतले नेपालमाथि अर्को नाकाबन्दी लगाउने सम्भावना कति रहेको छ ? 

नाकाबन्दी गर्ने भनेको जो शक्तिशाली छ उसैले गर्ने हो । कमजोर राष्ट्रले त्यसको असर व्यहोर्ने हो । भारतको पुरानो स्वभाव अलि हस्तक्षेपकारी रहेका कारण फेरि पनि नाकाबन्दी गर्दैन भन्नु गलत हुनेछ । भारतले नाकाबन्दी लगाउन सक्छ वा सक्दैन भन्नुभन्दा पनि उसँगको विगतको सम्बन्धले भारतले कुनै पनि समय नाकाबन्दी लगाउन सक्छ भन्ने बुझ्नु आवश्यक छ । भोलि नै लगाउन पनि सक्छ । १० वर्षसम्म नाकाबन्दी नलगाइ पनि बस्न सक्छ । भारतलाई कुन कुरामा चित्त बुझ्दैन, उसले आफ्नो व्यवहारमा परिवर्तन ल्याउन कत्ति पनि बेर लगाउँदैन । विं स. २०७२ मा भुकम्पपछि संकटमा रहेको नेपालमाथि नाकाबन्दी लगाएको भारत नेपाललाई बुझ्ने पक्षमा छदैछैन । शक्तिको एउटा बहुलठीपना भारतसँग रहेको छ ।

अहिले नेपाललाई नाकाबन्दी गर्ने सम्भावना बढेर गएको छ । भारत सुरक्षाका हिसाबले अमेरिकासँग धेरै नै नजिकिएको अवस्था रहेको छ । नेशन नेशनको सम्बन्ध पनि ‘क्लास इन्ट्रेस्ट’ अनुसार हुने गर्छ । नेपालका धनी वर्ग र भारतका धनी वर्गको एक खाले निर्णय गर्न सक्छन् । अन्तरदेशिय कोणले हेर्दा धनी वर्गहरुको सम्बन्ध कोसँग त्यसले पनि ठुलो भुमिका खेल्छ । धनी वर्गका व्यापारीहरुले मिलेर एक खाले संकट पैदा गर्न सक्ने सम्भावना पनि बढेर गएको छ । उनीहरुले आयातमा बन्देज लगाइदिए भने दुवै पक्षका सरकारको पनि केही लाग्दैन । त्यस्तै भारतको अर्थतन्त्र र अमेरिकी अर्थतन्त्रको ठुलो सम्बन्ध रहेको छ । उनीहरु यसै कारण पनि नेपालको अर्थतन्त्रलाई खासै महत्व दिन चाहँदैनन् । भारतले नेपाललाई नाकाबन्दी लगाए पनि अमेरिकाले टुलुटुलु हेर्ने नै हो । उनीहरुको अर्थतन्त्रसँग हामीले प्रतिस्पर्धा गर्ने अवस्था नरहेका कारण, फाइदा बेफाइदामा उनीहरुको बढी ध्यान जान्छ ।

के नेपालले त्रिपक्षिय सम्बन्ध सन्तुलित राख्न सक्ला ?

नेपालले त्रिपक्षीय सम्बन्ध सन्तुलित राख्नेभन्दा पनि तीनवटै देशले राख्नुपर्छ । अनि मात्र यस कुरालाई सम्बोधन गर्न सकिन्छ ।

चीनको नेपाल हेराईलाई तपाईले कसरी हेर्नुभएको छ ? नेपालमा चिनियाँ चलखेलका कारण भारत कति असुरक्षित महसुस गरिरहेको छ ? 

भारतले नेपालबाट असुरक्षित नै महसुस गरिराखेको छ । सैनिक क्षमता, सुरक्षा क्षमता के कति छ राष्ट्रियस्तरमा त्यसमा भर पर्ने कुरा हो । भारत र नेपालबीच सुरक्षाका विषयमा धेरै कुरा आदान–प्रदान गर्दै आइरहेको छ । गृहमन्त्रालयमा पनि ६ ६ महिनामा सहकार्य हुँदै आइरहेको छ । सिमाना हुने अपराधका घटना लगायत अन्य संवेदनशिल विषयमा दुवै देश सजक रहेका छन् । भारतविरोधी चिनियाँ चलखेल नेपालमा रहेको छैन । चीन व्यापारिक दृष्टिकोणले नेपालमा संलग्न रहेको छ । चीन आफ्नो इमेज बिर्गान नेपालमा लगानी गरिहेको छैन । चीनले पनि भारतसँगको सम्बन्धलाई महत्वकासाथ लिन नेपाललाई आग्रह गर्दै आइरहेका कारण पनि चीनले नेपालमा भारतलाई असर पर्ने काम पक्कै पनि गर्दैन । त्यो उसलाई जरुरी नै छैन ।

नेपाल र चीनको सम्बन्धलाई भारतले कसरी लिनुपर्छ ? अब नेपाल हेराइप्रति भारतको कस्तो कदम हुनसक्ला ?  

चीनप्रतिको झुकावले भारत केही हदसम्म शसंकित नै छ । बेलाबेलामा भारतीय मिडियाबाट प्रकाशित हुने समाचारहरुले पनि यस कुराको पुष्टि गरेको छ । नेपालमा चिनियाँ रेल आउने कुराले भारतमा ठुलै खैलाबैला भएको थियो । भारतको छिमेकी देशहरुसँग राम्रो सम्बन्ध रहेको छैन । उसले यसलाई सुधार्दै लैजानु पर्छ । यदी नेपाल अवस्था खराब हुँदै जाने हो भने भारतलाई पनि यो चिन्ताको विषय हुन्छ । नेपालको विकास हुन सक्ने भारतको पनि फाइदा नै रहेको छ । चीनले नेपाललाई अन्तराष्ट्रिय जगतमा जसरी सहयोग गरिराखेको छ भारतले पनि त्यो लचकता देखाउनु आवश्यक छ । त्रिपक्षिय सम्बन्धलाई तीनै देशले महत्व दिनु आवश्यक छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here