तालबाराही मन्दिरमा कोजाग्रत मेला

0
91

फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ ।

हातमा पूजाका सामग्री, निधारमा टीका र टाउँकामा जमरा लगाएका भक्तजन आज बिहानैदेखि तालबाराही मन्दिरमा दर्शन गर्नेको भीड लागेको थियो ।

तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीलगायत छिमेकी जिल्लाबाट दर्शनार्थी पोखरा आउने गरेका छन् ।

दशैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशँैघर र कोतमा राखिएका जमरा फेवाताल किनारमा विसर्जन गर्ने प्रचलन छ ।

परापूर्वकालदेखि नै यहाँ कोजाग्रत पूर्णिमामा मेला लाग्ने गरेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत रहँदै आएको छ ।

दर्शनका लागि फेवातालमा डुङ्गा चढेर मन्दिर जानेको दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको डुङ्गा व्यवसायी सङ्गठनका उपाध्यक्ष मङ्गल नेपाली बताउनुहुन्छ ।

उहाँका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म लगभग ५० हजार भक्तजनले तालबाराही मन्दिरको दर्शन गरिसकेका छन् । दुई वटा जोडेर निर्माण गरिएका डुङ्गा ३५ वटाले श्रद्धालु भक्तजनलाई सेवा प्रदान गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, “प्रतिव्यक्ति मन्दिर जाने र आउने गरी रु ६० टिकट दर कायम गरिएको छ ।”

तालबाराही मन्दिरसहित विन्ध्यवासिनी, कास्की कालिका, भद्रकाली, अकला मन्दिरलगायतका विभिन्न शक्तिपीठमा दर्शन गरेर कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आरधना गरी मनाउने चलन रहँदै आएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here