दाहालको दुवै हातमा लड्डु

0
214

वाम एकताको नारा दिएर चुनावी मोर्चामा सफलता पाएका एमाले र माओवादी केन्द्रका प्रमुख नेताहरुको अभिव्यक्ति र क्रियाकलापप्रति लक्षित गर्दै ‘राजनीतिक बजार’मा नानाथरीका अड्कलबाजी भइरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रलाई मात्र होइन, पार्टीभित्रका अन्य समूहका नेताहरुलाई समेत खबर नगरी सुटुक्क आफ्नो समूहका केही नेताहरु बोकेर चारवटा हेलिकप्टरमा रसुवागढी हानिए । उत्तरी छिमेकीको नजिक पुगेका ओलीको यो यात्राले दक्षिण छिमेकको नजिकको भूगोलमा पुगेका प्रचण्डको मनमा चस्का पस्यो । उनी पर्साको ठोरी नाकामा पुगेर र त्यसलाई केरुङसँग जोड्ने आश्वासन दिए । उत्तर र दक्षिण नाकामा पुगेका वाम गठबन्धनका दुई नेताहरुले यी ठाउँलाई किन छनौट गरे ? यहाँ संयोगले मात्रै काम गरेको छ भन्दा राजनीतिक विश्लेषकहरु पत्याउँदैनन् । यी ठाउँ छनौटका पछाडि राजनीतिक रणनीतिका प्रश्नहरु जोडिएको अनुमान गर्न गाह्रो छैन ।

यी सबै गतिविधिसँग जोडिएर बेवास्तामा परेको महत्वपूर्ण प्रसंग हो वाम एकता संयोजन समितिको बैठक । वाम गठबन्धनका प्रमुख नेताहरुले एकता प्रक्रिया अगाडि बढाउने भन्दा पनि अन्य झिनामसिना काममा आफूलाई अल्झाइरहेका छन् । भाषणको क्रममा पार्टी एकताबाट पछाडि हट्न नसकिने भनेर दोहोर्‍याइए पनि व्यवहारमा अन्य समिकरणको तयारी भइरहेको आशंका बढिरहेको छ ।

नवलपरासी पुगेका प्रचण्डले यसै साता एमालेले फोरमसँग मिलेर बहुमतको कोरम पुर्‍याउन लागेको भन्दै चाबी आफ्नै हातमा रहेको बताए । माओवादी स्रोतका अनुसार एमाले-माओवादी एकतापछि एकीकृत पार्टीमा प्रचण्डकै हालीमुहाली हुने देखेपछि ओली पक्ष एकताबाट पछाडि हट्न लागेको छ । एमालेले फोरमसँग कुरा गरिरहँदा एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, प्रधानमन्त्री र संसदीय दलको नेता एकैजना हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिबाट हच्किएका प्रचण्डले साँघुरा विकल्पहरुलाई फराकिलो बनाउन थालेको माओवादी केन्द्रका एक नेताले बताए ।
वाम एकता पहिला कि सरकार पहिला भन्ने प्रश्न केही समयअगाडि दुवै पार्टीमा बहसको विषय थियो । एमाले र माओवादीका केही प्रभावशाली नेताहरु यो प्रश्नमा स्वार्थअनुसार विभाजित भएका थिए ।


पार्टी एकतापछि एकीकृत पार्टीमा प्रचण्ड हावी हुने र संसदीय दलको नेतामा ओलीलाई अरु कसैले हराउन सक्ने सम्भावना बलियो हुँदै गएपछि ओली पक्षका नेताहरु पहिला सरकार अनि पार्टी एकताको पक्षमा देखिएका छन् । यो बीचमा महासचिव पोखरेलको भनाईलाई एमालेकै वामदेव र माधव नेपालले खण्डन हुनेगरी अभिव्यक्ति दिएपछि ओली समूह झन् झस्किएको एमाले स्रोतले जनायो ।

आफू कमजोर हुनेगरी किन एकता गर्ने ? ओली पक्ष अहिले यही प्रश्नको वरिपरि अलमलिएको छ । ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलगायतका नेतासँग चरणबद्ध भेटघाट गरिरहेका छन् । भेटघाटको दुवै पार्टीका नेताहरुले पुष्टि गरिसकेका छन् । १६ सिट रहेको फोरमलाई देखाउँदै ओली र दाहाल दुवैले एकअर्कालाई दबावमा पार्न खोजिरहेका छन् । विशेषगरी आलोपालो प्रधानमन्त्रीको कुरापछि ओली पक्ष झस्किएको र प्रचण्डलाई दबाव दिन उपेन्द्रसँग भेटघाट बाक्लो बनाएको चर्चा चलिरहेको छ ।

उता माओवादी केन्द्रले भने एमाले सम्मानजनक एकताको पक्षमा नदेखिए संविधान संशोधनका पक्षधरहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसी दलहरुबीच गठबन्धन गरेर सरकार बनाउने अस्त्रलाई अगाडि बढाएको छ । यसो गर्दा प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष पनि रहिरहने र प्रधानमन्त्री पनि बन्नेछन् । यसबाट एमालेमा विलय भएको आरोपबाट पनि बँचिने र सरकारको नेतृत्व पनि गर्न पाउने अवस्था छ । फोरम एमालेसँग मिल्ने कुरा संविधान संशोधनको एजेन्डाको कारण अप्ठेरो छ । यी दलबीच प्राकृतिक र राजनीतिक गठबन्धन हुन कि एमालेले संविधान संशोधनको एजेन्डा स्वीकार्नुपर्छ कि फोरमले उक्त एजेन्डा छाड्नुपर्छ । तत्कालको लागि यी दुवै सम्भावना नरहेको दुवै पार्टीका नेताहरु बताउँछन् ।

यसरी प्रचण्ड यतिबेला दुवै हातमा लड्डुको अवस्थामा छन् । एकता भए पार्टी अध्यक्ष र आधा कार्यकाल प्रधानमन्त्री नभए आफ्नो पार्टीको अध्यक्ष छँदैछ, साथमा ५ वर्षसम्म प्रधानमन्त्री । यी दुवै सम्भावना भए पनि प्रचण्डले एकताको कुरालाई कम प्राथमिकतामा नराखेको उनको सचिवालयले दावी गरेको छ । प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिना भन्छन्, ‘आज दिउँसो आफ्ना मतदातालाई धन्यवाद दिने कार्यक्रम सकेर अध्यक्ष प्रचण्ड काठमाडौं फर्कने कार्यक्रम रहेको छ, त्यसपछि पार्टी एकता, राष्ट्रिय सभा विधेयक र सरकार गठनका सम्बन्धमा गहन छलफल हुनेछ। हरहालतमा बामपन्थी सरकार बन्छ र पार्टी एकता हुनेछ। केही दिनयता गरिएका आशङ्का र अन्यौलको अवस्था १/२ दिनमा अन्त्य हुनेछ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here