वाम गठबन्धन एकता संयोजन समितिकाे बैठक आज, यस्तो छ माओवादीको प्रस्ताव

0
108

नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता र नयाँ सरकार गठनको विषयमा दुवै पार्टीका अध्यक्षहरुले आज पनि वान टु वान बैठकलाई निरन्तरता दिने भएका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार ओलीनिवास बालकोटमा छलफल भएको थियो । बुधाबरको बैठककै निरन्तरतास्वरुप आज अर्को बैठक बस्न लागेको हो ।

दुई नेताबीचको वान टु वान बैठक सकिएलगत्तै एकता संयोजन समितिको बैठक सुरु हुने बताइएको छ । एमाले र माओवादी केन्द्रले पार्टी एकताको संगठनात्मक र वैचारिक राजनीतिक मोडालिडीको विषयमा आज औपचारिक छलफल गर्नेछन् ।

दुईदलबीच पार्टी एकता, त्यसपछिको नेतृत्व व्यवस्थापन र सरकारको विषयमा भने मिश्रित खाकामा छलफल चलेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । दोस्रो तहका नेताबीच पनि पार्टी एकताको सैद्धान्तिक राजनीतिक आधारमा केन्द्रित छलफल भइरहेको छ ।

पार्टी एकता गर्नुअघि नेताहरूको पदीय व्यवस्थापन सरकारमा भागबन्डालगायतका विषय टुंग्याउन बाँकी छ । ओलीलाई नै प्रधानमन्त्री बनाउन माओवादी सहमत छ । तर, पार्टी एकतापछि सरकार र पार्टीको नेतृत्व अलग–अलग व्यक्तिले गर्ने वा के गर्ने विषयमा भन्ने नेताहरू निष्कर्षमा पुगेका छैनन् ।

माओवादी केन्द्रले राष्ट्रपति, उपराष्ट्रपति र सभामुख पहिलाकैलाई निरन्तरता दिने र प्रधानमन्त्री र पार्टी अध्यक्ष दुई पार्टीलाई बाँड्ने प्रस्तावलाई बटम लाइन बनाएर वार्ता गरिरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ । माओवादीको नेतृत्व सम्मानजनक एकताको पक्षमा छ ।

राष्ट्रपति, पार्टी अध्यक्ष, सभामुख, मन्त्रालयको भागबन्डालगायत विषय नेताहरूले टुंगाउन बाँकी छ । एकता समितिमा एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादीका तर्फबाट अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here