भाइरल ज्वरोले ३० जनाको मृत्यु

0
121

चिसो बढेसँगै देशका विभिन्न जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका कारण आइतबारसम्ममा ३० जनाको मृत्यु भएकोे छ ।

जाजरकोट, हुम्ला, सिरहा, सप्तरीमा र धादिङ लगाएका जिल्लाहरुमा फैलिएको रोगको समयमै उपचार नपाउँदा विरामीहरुको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ । भाइरलको प्रकोपले देशभर ३० जनाको मृत्यु भइसक्दा पनि सरुवा रोगको प्रकोप नियन्त्रणको लागि औषधि तथा चिकित्सकहरु सम्बन्धित क्षेत्रमा पठाउने सरकारी निकाय भने वेखबर छ ।

जाजारकोट लगायत देशका विभिन्न जिल्लाहरुमा भाइरल ज्वरोका कारण बिरामीको मृत्यु भएको खबरहरु आएसंगै सरकारले रोग नियन्त्रणको लागि के गर्दै छ भनेर बुझ्न खोज्दा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले आफूहरुलाई यसबारे थाहै नभएको प्रतिक्रिया दिए ।

प्रभावित क्षेत्रमा भएका बिरामीको अवस्था र औषधि उपचार तथा स्वास्थ्यकर्मीको विषयमा  बुझ्न खोज्दा डा. निर्देशकले आफू यस विषयमा अपडेट नै नभएको बताए । ‘म भर्खरै कार्यलयमा आएको छु । यस विषयमा म अपडेट नै भएको छैन । मैले पनि बुझ्न बाकी नै छ’ आइतबार विहान साढे ११ बजे उनले लोकान्तरसँग भने ।

‘एकसाता अघिदेखि भाइलर ज्वारोको प्रकोप देखिएको छ, बिरामीहरुको मृत्यु भइसक्दा पनि तपाई अहिलेसम्म अपडेट हुनुहुन्न ?’ लोकान्तरको यो प्रश्नमा  निर्देशक डा. आचार्यले भने,‘ समाचारहरुमा आएको भरमा मात्रै मैले बोल्न मिल्दैन । मैले आधिकारीक कुरा दिनुपर्छ । बेलुकासम्ममा सबै बुझेर हाम्रो वेवसाइटमा अपडेट गछौं । त्यहाबाट लिनुस् न !’

सम्बन्धित जिल्लाहरुमा समन्वय गरी प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न आवश्यक औषधि र चिकित्सक छिटै पठाउनुपर्ने महाशाखाका उच्च अधिकारीहरु आइतबारसम्म पनि यसबारेमा जानकार र बेखबर छु भन्नुले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली र ओषधि पुग्न अझै केही दिन लाग्ने निश्चित छ ।

जाजरकोटमा एक हप्तादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण ९ जनाको मृत्यु भइसकेको छ । ज्वरो र रुघाखोकीले जाजरकोटको जुनीचाँदे गाउँपालिकाका तीन सय बढी  बिरामी परेका स्वाथ्य चौकी बड्कुले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here